Showing posts with label नेपाली. Show all posts
Showing posts with label नेपाली. Show all posts

Thursday, June 26, 2008

चक्रव्यूह

चक्रव्यूह
रामेश्वर काम्बोज हिमाङ्शु

'माइलालाई हेर्नु न कति कमजोर र दुब्लो भैसक्यो।' बिहान पत्‍नीले भनिन्।
'अँ त्यो त म पनि देख्दै छु, तर के पो गर्न सक्छु र? कलकत्तामा बसेका थियौँ। त्यहाँ न्याना लुगा चाहिएकै थिएनन्। यहाँ धेरै नचाहिए पनि तीनैजनालाई एकएकओटा फुल-स्वेटर त चाहियो नै। म पनि त चप्पलै लगाएर अफिस जाँदै छु। कमसेकम दुई सय हातमा भए माइलाको उपचार सुरु गर्नु हुन्थ्यो।'
'म बितेका आठ वर्षदेखि हेरिरहेकी छु, महिनाका अन्तिम दिनहरूमा तपाईँसँग दुई रूपैयाँ पनि बच्दैन।' पत्‍नी सन्किइन्।
कुनै रूघा-खोकीको उपचार त थिएन। फोक्सामा खराबी थियो। वर्षभरि उपचार गराएर हेर्‍यौँ, रत्तिभर फरक परेन। सन्तुलित भोजन पनि कहाँ भेटेको छ र माइलाले ?
मैले देखेँ पत्‍नीका आँखा भरिएका छन्- 'तीन जनामध्ये माइलो अलिक राम्रो पनि त छ....।' उनले मुख अर्कैतिर फर्काइन्। म केही नखाई अफिस गएँ। माइलाको ओइलाएको अनुहार दिनभरि मेरा आँखामा आइरह्यो। बेलुका बोझिल कदमहरू लिएर घर फर्किएँ। पिताजीको पत्र आएको रहेछ। एक हजार पठाइदिनु भनेर। अब उहाँलाई के उत्तर दिऊँ ? महिनाभरिको कमाइ आठ सय छ। कतै डाका गरौँ कि चोरौँ ? वर्षभरिमा कहिल्यै एकहजार जम्मा भएनन्। ती बूढा आँखाहरू 'तीन-चार सय त पठाएको भए हुन्थ्यो' भन्दै हरेक दिन पोस्टम्यानको बाटो हेरिरहेका होलान्।
एउटा पहेँलो प्रकाश मेरो आँखा अगाडि पसारिएको छ। त्यहाँ जर्जर अवस्थामा पिताजी खटियामा कराइरहनुभएको छ र अस्थिपञ्जरमात्र बाँकी भएको मेरो माहिलो छोरो सुकेका खुट्टाहरूले लड्दै-बढ्दै कहीँ टाढा भागिरहेको छ। अनि म आफ्नै खुट्टाहरू धरतीमा टेकाउनलाई पनि आफैँलाई असमर्थ महसुस गर्दै छु।
«««

हिन्दीबाट अनुवादः कुमुद अधिकारी।
(www.sahityasarita.org) से साभार